![]() |
२४ साउन, काठमाडौं । प्रचण्ड सरकारमा सहभागी हुने कि नहुने भन्ने विवादसँगै पूर्व पञ्चहरुको पार्टी राप्रपा र राप्रपा नेपालबीच हुने भनिएको पार्टी एकता भाँडिएको छ ।
दुई राप्रपाको पार्टी एकता घोषणा भोलिका लागि तय भएको थियो । तर, त्यसको अघिल्लो दिन सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले भोलि हुने भनिएको कार्यक्रममा सहभागी नहुन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
र, अब मंगलबार राष्ट्रिय सभामा गर्ने भनिएको राप्रपा नेपाल र राप्रपाको एकता घोषणा कार्यक्रम स्थगित भएको छ । राप्रपा नेपालले राणाको कदम आश्चर्यजनक र दुःखद भनेको छ ।
विवादको चुरो सरकार ?
राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राणाले तीन दिनअघि मात्र पार्टी एकता गर्ने घोषणा गरेका थिए । र, भोलि मंगलबार पार्टी एकता घोषणा सभा राखिएको थियो ।
तर, अघिल्लो दिन पार्टी एकतापछिको अन्तरिम विधानका अन्तरवस्तुबारे टुंगो लागिनसकेको भन्दै राप्रपा अध्यक्ष राणाले एकता सभामा सहभागी नहुन पार्टी नेता कार्यकर्तालाई उर्दी जारी गरे ।
राणाले विधानको बहाना बनाएपनि अहिले देखिएको विवाद प्रचण्ड सरकारमा जाने कि नजाने भन्नेमा केन्द्रित छ ।
प्रधानमन्त्री प्रचण्डले राप्रपालाई दुई मन्त्रीको नाम दिन भनेका थिए । र, राप्रपा अध्यक्ष राणाले सोमबार विहान थापालार्इ बोलाएर कुनै पनि हालतमा मन्त्री पठाउनु पर्ने भयो भनेका थिए । जवाफमा थापाले सरकार र पार्टी एकता मध्ये एक रोज्न भने ।
स्रोतहरुका अनुसार राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द पनि प्रचण्ड सरकारमा जानु हुन्न भन्ने पक्षमा छन् ।
तर, अविश्वासको प्रस्तावको पक्षमा समर्थन गरेर बचन दिइसकेका राणाले साँझ मन्त्रीहरूको नाम पठाए र पार्टी एकता सभामा नजान निर्देशन जारी गरे ।
निर्णय आश्चर्यजनकः राप्रपा नेपाल
राणाको वक्तव्य आएपछि राप्रपा नेपालले आश्चर्य व्यक्त गरेको छ । आफूलाई जानकारी समेत नदिई एकीकरण रोक्नु राजनीतिक बेइमानी र दुःखद भएको उसले बताएको छ ।
विधानमा कुनै अस्पष्टता वा कमी भएको भए राप्रपाको माग वा चाहनाअनुसार गर्न तयार रहेको सन्देश पठाउँदा समेत एकतर्फी रुपमा पार्टी एकता कार्यक्रम रोकेको भन्दै राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले राप्रपाको निर्णयबाट आफूहरु स्तब्ध भएको बताएका छन् ।
थप धारणा सार्वजनिक गर्न राप्रपा नेपालले भोलि मंगलबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।
![]() |
0 comments:
Post a Comment