तिलाठी घटनाका अगुवा देवनारायण यादवको बयान, ‘केटाकेटी र महिलासँगै भारतीयविरुद्ध लड्यौं’



श्रावण १५, २०७३- सप्तरीको तिलाठीमा दशगजा मिचेर भारतीयले बनाएको बाँध सीमावर्ती नेपालीले भत्काइदिए । त्यसक्रममा भएको झडपमा केही नेपाली घाइते भए । भारतीयले बनाएको बाँध भत्काउने अभियानको नेतृत्व गरेका देवनारायण यादव पनि झडपमा घाइते भए । उनलाई उपचारका लागि युवाहरुको एक समूहले काठमाडौं ल्याएको छ । काठमाडौं उत्रनेवित्तिकै कान्तिपुरका शेखर अधिकारीसँग उनले घटनाको यसरी बयान गरे–
साउन १३ गते बिहीबार झडपको घटना भएपछिमात्रै हामीमाथिको भारतीय हेपाहा प्रवृत्ति बाहिर आएको हो । तर पुस्तौंदेखि हामी सीमामा बनाएको बाँधले आजित भएका थियौं । १९७१ मा भारतले तिलाठीमा रहेको दशगजा क्षेत्रमा बाँध बनाएपछि हामी निरन्तर डुबानमा परेका छौं ।
खिलराज रेग्मी सरकारका सिँचाइ मन्त्री उमाकान्त झा ‘नो म्यान्स ल्यान्ड’मा बनाएको बाँध भ्रमणमा जानुभएको थियो । त्यतिबेला त्यहाँ भारतीयहरु काम गर्दै थिए । उहाँले हामीसँग छलफल गर्नुभयो । निवर्तमान गाविस अध्यक्ष, उपाध्यक्ष भएर ज्ञापन पत्र बुझायौं । उहाँले कुटनीतिक माध्यमबाट त्यसलाई रोक्नुभयो ।
अहिले पनि सिँचाइ मन्त्रालयमा  त्यो कागज सुरक्षित रहेको हुनुपर्छ । कागजीरुपमा रोकिए पनि व्यवहारमा रोकिएन ।
सीमा क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरीको बेसक्याम्प छ । इन्स्पेक्टरले नेतृत्व गरेको बेसक्याम्पसँग आफ्नै बाध्यता छन् । सुरक्षा मामिला हेर्छ तर भारतीय पक्षबाट हुने यस्ता क्रियाकलाप रोक्न सक्दैन । तर, नेपाली सुरक्षाकर्मीले मुखियालाई बोलाएर धेरैपटक बाँध बाँध्न रोकेको छ । हामीले पनि त्यो नो म्यान्स ल्यान्ड हो, इन्डियाको होइन । एक थोपा माटो नथप्ने सहमति पालना गर्न भनिरह्यौँ ।
यसपालि खाँडो नदी उत्पातैसँग बढेर आयो । भारतीयले बनाएको ४० मिटर लामो बाँध भत्कायो । भारततिरका मुसलमानहरुको कब्रस्तान (समाधिस्थल) पनि भत्कायो । बाँध भत्काएपछि फेरि रातारात बनाउन सुरु भयो । त्यो बाँधले तिलाठीसहित दर्जनभन्दा बढी गाविस डुब्यो ।
बाँध भत्किएपछि भारतका जल संशासन मन्त्री आए । जबरजस्ती बाँध बनाउने योजना बनाइयो । बाँध बनाउन रोक्न मैले पहिले पनि एक्लै लडेको थिएँ । कतिपय बेला चाँही पत्रकारलाई लगेर जान्थेँ, पत्रकार गएपछि भारतीयले कुट्न सक्दैनथे ।
भारतीयले ‘नो म्यान्स ल्यान्ड’मा बाँध बनाएको कुरा मैले सिडियो र जिल्ला प्रहरी प्रमुखलाई पटक पटक भनेको थिएँ । पीडाले कति पटक त मैले सिडियो र पुलिस चिफलाई असभ्य भाषा पनि प्रयोग गरेँ । असभ्य भाषा बोल्नु मेरो बाध्यता थियो, किनकि स्वामिभानको कुरा थियो । देशको धर्तीको रक्षाको कुरा थियो ।
शुक्रबार पनि भारतीयहरुले बाँध बनाउन थालेपछि जिल्ला प्रशासनलाई जानकारी गरायौं । सिडियोले पनि स्थलगत हेरेर फर्कनुभयो । तर, काम रोकिएन ।
भारतीय क्षेत्रमा त्यहाँ मुसलमान र बनियाँहरुको बस्ती छ । उनीहरु सयौं थिए । हामी सुरुमा दुई तीन जनामात्रै थियो । विस्तारै गाउँका महिलाहरु र तीस जना केटाकेटी थिए ।
इन्डियनहरुले बाँस गाडेका थिए । मैले बाँस उखेल्न थालेँ । हातहातमा भारतीयले गाडेका बाँसका भाडा बनाएर भिड्न तयार भयौँ । २०–२५ जना केटाहरु आए । जुध्न सुरु भयो ।
मलाई लाग्यो नेपालीहरु त केटाकेटी धेरै छन् । उनीहरुको ज्यानको कुरा छ । मैले कुटपीट नगर्ने र सम्झाएर फर्कने योजना बनाएँ । म गम्छा बाँधेर पारितिर गएका केटाकेटीहरुलाई लिन गएको थिएँ । मलाई थाहा थियो, सदियौंदेखि म भारतीयको तारो थिएँ । यिनीहरुले मलाई एट्याक गर्छन् भन्ने लागेको थियो । नभन्दै एक्कासी इन्डियनले बाँसको भाटाले टाउकोमा हिर्काए । भतिज (दुर्गानन्द)ले काका जिउभरि रगत भयो त भन्यो । मैले त्यसपछि थाहा पाइनँ ।
हाम्रोतर्फ केही गाडी थिए, मलाई गाडी चढाएर हस्पिटल लगिएछ ।
अहिलेसम्म दर्जनौं गाविस डुबानमा परेका छन् । भारतले हेलचेक्र्याईं गर्दा समस्या सधैँ परिरहेको छ । मेरा दुई छोरा, दुई छोरी छन् । छोराछोरीको भविष्यको चिन्ता छ, त्यसो भनेर म मातृभूमिको रक्षाका लागि माटोको रक्षाका लागि जहिल्यै पनि भिड्न तयार छु ।
घटनापछि भारत र नेपालको प्रशासनबीच सहमति भएको सुनेको छु ।
‘नो म्यान्स ल्यान्ड’मा भारतबाट भएको हेपाहा व्यवहारको नेपाल सरकार र हाम्रा नेताको ध्यान गएको छैन । सप्तरीमा कहिले दाङको सिडियो हुन्छ, कहिले सुर्खेतको । उनीहरुलाई नेपाली माटो र सीमाको ज्ञान नै हुँदैन, पाँच किलोमिटरसम्म उनीहरुले हाम्रो भूमि मिचेका छन् । लोकल बाजे बराजूले गरेको गल्ती हामीले भोगेका छौं, तर हामी आफ्नो भूमिका लागि, सीमाका लागि लड्छौ ।
भारतीयले नेपाली सडकमै कल्भर्ट र पुल बनाएर थुनिदिएका छन् ।  संसारमा सीमामा यस्तो मिचाहा व्यवहार मैले सुनेको छैन ।
अब फेरि एकपटक सर्भे गर्नुपर्छ र विवाद समाधान गर्नुपर्छ । सीमास्तम्भ हेर्ने जिम्मा दुवै देशको हो । एक नम्बर हाम्रो हो भने दुई नम्बर स्तम्भ उसले हेर्नुपर्छ । हामीले आफ्नो हेरचाहन गरेका छौं, उनीहरुले पूरै बेवास्ता गरेका छन् ।
नेपाली नेताहरुले यस्तो गम्भीर विषयमा कुनै काम गरेका छैनन् । कुर्सीको चलखेलमा कहाँ कहाँ नेपालको सीमा मिचिएको छ, कहाँ नेपाली जनता मरेका छन् भन्ने पनि ख्याल गरिएको छैन ।


http://bit.ly/2aynW9Y
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment